Saturday, August 29, 2015

नेपालीहरुको भावनात्मक एकतालाई नभाँचौं


महेश चौधरी

विविधतामा भावनात्मक एकता नेपालीहरुको राष्ट्रिय एकताको पहिचान हो । जातिय, भाषिक, धार्मिक र सांस्कृतिक सहष्णुता हाम्रो युगौंदेखिको शान हो । हिमाल, पहाड, तराई राष्ट्रिय सुन्दरता र समृद्धि हो । तर, संघियताले हाम्रो भावनात्मक एकता, सहिष्णुता र संमृद्धिलाई खलबल्यायो । कैलाली टीकापुरमा घटेको हिंसात्मक घटनायसको ज्वलन्त उदाहरण हो ।
शासक बर्गको अहंमता देखेर डोरबहादुर बिष्टले ‘हिमाल’ अंक २०५२ः७–८ मा आफ्नो बिचार यसरी व्यक्त गरेका थिए– जुन राष्ट्रको आधारशिला नै जातिय बिबिधतामा खडा छ, त्यसका बासिन्दाले उसबाट तर्सिने वा आत्तिने कुनै कारण छैन । बरु यस यथार्थलाई आत्मसाथ गर्नाले अघि बढ्ने बाटो पहिल्याउन सजिलो हुन्छ । हाम्रो देशमा भविश्यमा कुनै दिन हिंसापुर्ण जातिय वा साम्प्रदायीक भिडन्त हुन सम्भव छ कि छैन भन्ने प्रश्न गर्नुभनेको कुनै दिन हाम्रो देशमा भुईचालो आउला कि नआउला भनेर प्रश्न गर्नु जस्तो कुरा होईन र ? जाति, धार्मिक समुह र सम्प्रदाय भनेको चाहिँ हामी आफै नै भएको हुनाले आपसमा दङ्गा र भिडन्तलाई चाही हामी सबै मिलेर कोसिस गरेमा टार्न सक्छौं । कसैले नलेख्दैमा नेपालको विभिन्न जातजातिको ईतिहास सधैं लुकेर बस्ने कुरा पनि होईन । कसैले चाहदैमा मेटेर जाने कुरा पनि त्यो होईन । बिभिन्न कारणले गर्दा अतितमा तल्ला जातका, बुद्धि नभएका, जङ्गली, मतवाली आदि बिशेषणबाट अपमानित हुँदा पनि बस्नुपर्ने बाध्यता भित्र परेका थुप्रै जातजाति, मधेशी, मुस्लीम, महिला, दलित र पछाडी  पारिएका क्षेत्रका जनताले आज ठुलो स्वरले बोल्न खोजकोमा कसैले आश्चर्य मान्न हुन्न । बरु ठुलो ठुलो तोक बोल्न सक्ने हुकुमी शासकहरुलाई समेत ढलाउन समर्थ भईसकेका नेपालीहरुले अब पहिलेजस्तो हामी ठुला र माथिल्ला शासक जातका हौं भनी हिड्ने कसैलाई पनि सहने छैनन् भन्ने कुरा सबैले बुझ्नु पर्ने भएको छ ।  
यो लेखका लेखकले २०६९ सालमा प्रकाशित आफ्नो पुस्तक ‘स्थविरहरुको प्राचिन ईतिहास र संस्कृति’ को भुमिकामा उल्लेख गरेका थिए– ‘अहिले भविश्यबाणी गरिदैछ कि नेपालको सुदुरपश्चिम तराई कैलाली र कञ्चनपुर समेत मिलाएर अखण्ड सुदुरपश्चिम सामन्ती डोट्याली प्रदेश (राज्य) अथवा सेति–महाकाली प्रदेश स्थापना गरियो भने निकट भविश्यमा मधेश बिद्राह पछि अर्को थरुहट/थारुवान बिद्रोह उठ्छ, उठ्छ । बिगत दिनका सामन्त खस शासकहरुको अहंकारपुर्ण प्रवृत्ति, शोषण र दमनकारी तथा हेपाहा मनोवृत्ति र डोट्याली राज्यका पक्षपोषकहरुका कारण राज्यपुरसंरचना अन्तरगत थारु समुदायको बसोबास, थारु भाषा संस्कृतिको र ऐतिहासिक निरन्तरताको आधारमा अब बन्ने ‘थारु–अबध–लुम्बीनी प्रदेश’ लाई तोडेर थारु समुदायलाई उनीहरुको प्रदेशमा कहिलपनि नेतृत्वमा आउन नदिनेगरी, सँधै राज्यसत्ता भन्दा टाढा राख्न, भाषा, संस्कृति र थारु समुदायको स्वशासित प्रदेश बन्न नदिन र चौतर्फी बिकास हुन नदिई सदैव सामन्ती शासकहरुको कमैया, कमलहरी, हली र सुकुम्बासी दास झै बनाई राख्न र उनीहरुलाई उनीहरुको थात–थलोबाट बिस्थापीत गर्नका लागी ‘अखण्ड सुदुरपश्चिम’ अथवा ‘सेति–महाकाली डोट्याली सामन्ती राज्य’ पुनस्र्थापना गर्न खोज्ने खस सामन्त शासकहरुको योजना बिरुद्ध यो बिष्फोट ढिलो चाँडो उठ्ने छ भनेर थरुहट/थारुवान क्षेत्रका बासिन्दाहरुले भनिरहेका छन् । Making of Modern NepalÚ का लेखक ईतिहासविद डा. रामनिवास पाण्डेका अनुसार–‘पछिल्लो महाभारत काल अथवा महाजनपद कालमा नेपाल तराईमा दुईवटा सभ्यता बिद्यमान थियो । नारायणी नदि पुर्व मिथीला सभ्यता र नारायणी नदि पश्चिम लुम्बीनी सभ्यता । शाक्य गणराज्य थारुहरुको गणराज्य हो । यो गणराज्यमा पुर्व नारायणी नदि देखि पश्चिम महाकाली नदिसम्म फैलिएको थियो । जसमा दाङ–देउखुरी र सुर्खेत उत्यकाहरु समेत यसमा समावेश थिए’
लेखकले उधृत गरेको कुरा आज आएर कैलाली टीकापुरको हिंसात्मक घटनाले सत्य सावित गरिदियो । टीकापुरमा घटेको हिंसात्मक घटना नेपालीहरुका लागी मात्र नभएर बिश्व मानवजातिका लागी समेत अत्यन्त दुःखदायी घटना हो । राष्ट्र र जनताको सुरक्षाका लागी खटीएका सुरक्षाकर्मी एसएसपी सहित सातजना सुरक्षाकर्मीको निर्मम हत्याहुनु यो ज्यादै निन्दनिय घटना हो । त्यसमा दुईबर्षे बालक मारिनु त्यो भन्दा ठुलो बर्बरता अरु के हुन सक्छ ? जनताको सुरक्षा गर्ने सुरक्षाकर्मी मारिएपछि जनताको सुरक्षा कसले गर्छ ? तर घटना घट्यो, यो घटनाको दोषि को हो भन्ने प्रश्न खडा हुन्छ– आन्दोलनकारी अथवा दलका नेताहरु ? खण्ड–अखण्डका जनता कि कुर्सीमा बसेका जनता ? 
संघियता र अखण्डता दुई विपरित र बिरोधाभासी कुरा हुन् । लेखकले धेरै पहिलेदेखि भन्दै आएको कुरा हो– एक मधेश एक प्रदेश र अखण्ड सुदुरपश्चिमको नारा राष्ट्रिय बिखण्डनको नारा हो । संघिय प्रदेश निर्माण गर्दा नेपाल मात्र अखण्ड हो । अरु बाँकी सबै खण्डीत हुन । अखण्ड सुदुरपश्चिमको नाराले टीकापुरको हिंसात्मक घटना घट्न पुग्यो, जसको परिणाम नेपालीहरुको एकताको भावना भाँचिएको छ । मनै फाटेको छ अब कसरी जोड्ने र कसरी सिउने हो ? 
नेपालमा धेरै लालबुझक्कड दलका नेताहरु छन् । प्राचिन भारतको ईतिहास समेतले पुष्टि गर्न नसकेको कुरा हिमवत खण्डको तराई भागलाई ‘मधेश’ भनिदिए । संबिधान संसोधन गरेर भएपनि तराई शव्दलाई हटाएर मधेश शव्द राखिदिए । बिश्वमा कतै नभएको ‘मधेश प्रदेश’ नेपालको तराईमा पर्सादेखि सप्तरी सम्म मधेशी समुदायलाई दया गरेर दिईदिए । तर, तराईका भुमिपुत्र थारुहरुले आफ्नो सघन र निरन्तर बसोबासको मुल थलो नवलपरासी देखि कञ्चनपुर सम्मको तराई भुमि माग गर्दा हामीलाई आन्दोलनकारी र आतंङ्कारी कसरी भन्न सकिरहेका छन् भनेर थारु सभासदहरुले भनिरहेका छन् ? जुन जातिले आदिम अबस्था देखि तराईमा औलो र हिंस्रक जनावरहरुसंग पैठेजोरी खेल्दै तराईको रक्षा गर्दै आयो, त्यहि शान्त थारुजातिलाई आज सुदुरपश्चिमको बिखण्डनकारी र आतंककारी संज्ञा दिन कसरी सकेका छन् ? 
२०२५ साल तिर भुगोलबिद डा. हर्क गुरुङले नेपालको समग्र आर्थिक बिकासका लागी ’नेपालको प्रादेशिक बिकासको अबधारणा’ ल्याए । अर्थात हिमाल, पहाड, तराई प्रदेशलाई जोड्नेगरी पाँच बिकास क्षेत्रमा समग्र मुलुकलाई उत्तर–दक्षिण विभाजन गरियो । प्रत्यक बिकास क्षेत्रलाई पुनः अञ्चल, जिल्ला र नगरपालीका/गाउँबिकास समितिमा बिभाजन गरेर हिमाल पहाड तराई, नदि र ऐतिहासिक स्थलका आधारमा नामाकरण गरियो । संघियता र अखण्डता विपरित कुरा भएझै प्रादेशिक बिकासको अबधारणा र राज्यको अग्रगामी पुनरसंरचना अनुसार संघिय प्रदेश निर्माणको अबधारणा फरक धारणा होईन र ? राष्ट्रको अग्रगामी पुनरसंरचना अनुसार संघिय प्रदेश निर्माण गर्दा अखण्ड र बिखण्डनको प्रश्नै उठ्दैन । 
नेकपा (माओबादी)ले उठाएको जातिय स्वशासनको अबधारणा नेपाली जनताले बुझ्नै सकेनन् र त्यो पार्टीले जनतालाई आफ्नो अबधारणा बुझाउनै सकेन । जाति, समुदायका नाममा हचुवाभरले स्वशासित प्रदेश नामाकरण ग¥यो । दलित, महिला र अन्यले आफ्नो स्वशासित प्रदेश खोज्न थाले । नेपाली नेपालीमा शंका उत्पन्न गरायो । जसले गर्दा नेपालीहरुको मनै भाँचियो । हर्क गुरुङले आफ्ना छोराछोरीको नाम धौलागीरी, अन्नपुर्ण, मकालु राखेझै त्यो पार्टीले स्वायत्त प्रदेशको नामाकरण हिमाल, पहाड, नदि, प्राचिन स्थलको नाममा स्वायत्त प्रदेशको नाम राखिदिएको भए स्वशासनको बिरोध यति जातिबिति हुने नै थिएन । 
अझै राप्तीको पानी धेरै बगेर गएको छैन । एकपटक हामी ठण्डा दिमागले सोँचौं । लोकतन्त्र सल्लाह र सहमतिले चल्ने व्यबस्था हो । वार्ता, छलफल र सहमतिका आधारमा समस्या सामाधान गर्ने प्रयास गरौं । शासक बर्गले समयमै आफ्नो अहंकार र हुंकारलाई त्यागौं । 


No comments:

Post a Comment