Tuesday, September 15, 2015

आदिवासी धर्तिपुत्र थारु समुदायको ‘अट्वारी’ को एक चर्चा

सन्तोष दहित
         नेपालका भूमिपुत्र भनेर चिनिने थारु जातिको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जगतमा छुट्टै पहिचान रहिआएको छ । आफ्नो उच्च भेषभुषा, रहन–सहन, भाषा, संस्कृति एवम् जीवनशैली अत्यन्त रोचक र फरक रहेको छ । थारु समुदायका मानिसहरुलाई सरल, इमान्दार एवम् परिश्रमका पारखीका रुपमा पनि चिनिने गरिन्छ । प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेको थारु जाति समृद्ध संस्कृतिका धनी मानिन्छन् । त्यसैले होला प्रत्येक महिनामा कुनै न कुनै पर्व थारु समुदायले मनाउँदै आएका छन् । थारु समुदायले अरु जति पर्व मनाए पनि माघीपछिको ठूलो पर्वका रुपमा अट्वारीलाई मनाउँदै आएका छन् ।
        थारु समुदायको ‘माघी’ पछि दोस्रो महानपर्व ‘अट्वारी’ लाई मान्नेगर्दछन् । यो पर्वलाई थारु समुदायका मानिसहरुले धुमधामका साथ उल्लासमय वातावरणमा मनाउँदै आइरहेका छन् । ‘अट्वारी’ पर्वलाई थारु समुदायले दुइ दिनसम्म मनाउने गर्ने गर्दछन् । बर्षको एकचोटी मनाउने ‘अट्वारी’ अरु पर्व भन्दा फरक तरिकाले र निकै महत्वका साथ मनाउँदै आइरहेका छन् । यदपि ‘अट्वारी’ पर्व मनाउनको लागि थारु समुदायको तिथिमिति नभए पनि थारु समुदायले कृष्णअष्टमीपछि दुइ आइतबार अर्थात् कुशेऔंशीपछिको आइतबारको दिनमा ‘अट्वारी’  पर्व  मनाउँदै आइरहेका छन् ।
यो पर्वमा पश्चिम तराईका जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत गरी ६ जिल्लाका थारु समुदायले भव्यताका साथ उल्लासमय वातावरणमा अट्वारीलाई मनाउँदै आएका छन् । अट्वारी पर्व थारु समुदायका पुरुषले मात्र मनाउँदै आएको पाइन्छ । खासगरी यो पर्व मनाउने मुख्य कारण ऐतिहासिक घटनासँग जोडिएको पाइन्छ ।
        प्राचीनकालमा दाङका दङ्गीशरण थारु राजा र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित रहेको छ । महाभारतका पाँच पाण्डव र दाङका थारु राजा दङ्गीशरणबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहेको थियो । यही क्रममा पाँच पाण्डव र द्रौपती सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका रहेछन्, त्यही क्रममा दाङका थारु राजा दङ्गीशरणको राज्यमा शत्रुहरुले आक्रमण गरिरहेको खबर पाउनबित्तिकै तावामा पकाउन राखेको रोटी छाडेर भीमले भोको पेटमा पानीसमेत नखाई थारु राजा दङ्गीशरणको पक्षमा लड्न गएछन् र शत्रुहरुलाई हराएछन् । यसरी भोको पेटमा पनि केही नखाएर थारु राजा दङ्गीशरणको पक्षमा लडेर विजय हासिल गरेको अवसरमा यो अट्वारी पर्व मनाउँदै आएको पाइन्छ ।
       जुन मान्यतालाई विश्वास गरि थारु समुदायले भीमजस्तै बलियो बन्नका लागि यो ‘अट्वारी’ पर्व मनाउँदै आएको थारु वुद्धिजीवीहरुको भनाई छ । उक्त घटना पनि आइतबारको दिन परेकोले यसको नाम पनि ‘अट्वारी’ राखिएको बुझिन्छ ।
अट्वारीको पहिलो दिन
    अट्वारीको अघिल्लो रात अर्थात् शनिबारको दिन २/३ बजेतिर राती उठेर माछा, मासु पकाएर दर खाने चलन छ । आइतबार दिनभरि ब्रत बसेर साँझपख ७ बजेतिर नजिकैको खोलामा नुहाइधुवाइ गरेर घरको बैठक कोठामा लिपपोत गरि “गन्यारी” भन्ने काठबाट आगो निकालेर भान्सा गर्ने चलन रहेको छ ।
त्यही “गन्यारी”बाट निस्केको आगोले सबैभन्दा पहिला एकापट्टि मात्र ठूलो “भ्याँवा” रोटी पकाउने चलन छ । जुन रोटीलाई “भेँवक” रोटी भन्ने चलन छ । त्यसपछि अरु विभिन्नथरिका चिल्ला रोटी पकाइसकेपछि आफ्ना दिदीबहिनीहरुको लागि आ–आफ्नो भागमा रहेका रोटी विभिन्न थरिका फलफूल आधा भाग निकालिसकेपछि पुनः आ–आफ्नो भागबाट सबै रोटी तथा फलफूलबाट चिम्टेर “भेँवक” अर्थात् भीमको नाममा आगोमा हालेर पूजा गर्ने चलन छ । यसरी पूजाअर्चना गरिसकेपछि घरका सबै सदस्यहरुले सबैभन्दा ठूला मान्छेबाट क्रमशः सानोले रमाइलो गर्दै खाने चलन रहेको छ ।
जुन दिदीबहिनीहरुको लागि निकालेको रोटी फलफूल थारु भाषामा “अग्रासन” अर्थात् कोशेली भन्ने चलन छ । त्यही अग्रासन अट्वारीको भोलिपल्टको दिन आफ्ना दिदीबहिनीहरुलाई दिन जाने चलन रहेको छ ।
अट्वारीको दोस्रो दिन
अट्वारीको दोस्रो दिन अर्थात् फलारको दिन बिहान सबेरै उठेर नजिकैको खोलामा नुहाइधुवाइ गरि घरको बैठक कोठामा पुनः लिपपोत गरि ३ या ७ थरिका तरकारी र भात पकाइसकेपछि अट्वारीको पहिलो दिनझैं भात, सबै तरकारीबाट आधा भाग निकाल्नुपर्दछ । जसलाई थारु भाषामा “कहर्ना” भनिन्छ । यसरी सबै गरिसकेपछि भीमको नाममा सबै तरकारीबाट एक–एक गाँस तरकारी र भात निकालेर आगोमा हालेर पूजा गर्ने चलन छ । यसरी पूजाअर्चना गरिसकेपछि क्रमशः घरको मुल सदस्यबाट सबैजना रमाइलो गर्दै खाने चलन रहेको छ । पूजाअर्चना खाइपिइ गरिसकेपछि अर्काे महत्वको विषय पनि रहेको छ ।यता थारु समुदायका विवाहित महिला दिदीबहिनीहरुले आफ्नो माइतबाट आफूलाई छुट्याएको भाग “अग्रासन” अर्थात् कोशेलीको पर्खाइमा बसिरहेका हुन्छन् ।

         जबसम्म त्यो अग्रासन माइतबाट आउँदैन् तबसम्म पर्खाइमा बसेका महिला दिदीबहिनीहरु घरमा केही पनि नखाने गरेको पाइन्छ । अघि पछिभन्दा अट्वारीमा थारु महिला दिदीबहिनीहरुले माइतबाट पठाएको अग्रासनको बढी आशा गरेको पाइन्छ ।
    यति मात्र नभएर थारु समुदायमा बर्षभरि आफ्ना दिदीबहिनी अर्थात् दाइभाइसँगको भेटघाट गर्ने अवसर मिलाइदिएको हुन्छ । अट्वारी पर्वले बर्षमा एकचोटी भए पनि आफ्ना दिदीबहिनी तथा दाइभाइसँग भेट्ने अवसर जुटाइदिन्छ । त्यस्तै, छरछिमेकीहरुसँग रीसराग रहेको बेलामा पनि यो पर्वले मिलन गराउनेजस्ता क्रियाकलापमा पनि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
    यसरी थारु समुदायले आफ्नो महान पर्व अट्वारी उल्लासयम वातावरणका साथ धुमधामसँग मनाउँदै आएका छन् । थारु समुदायले अट्वारी पर्व मात्र नभएर अन्य पर्व पनि यस्तै तरिकाले मनाउँदै आएका छन् तर पनि थारु समुदायको कुनै पनि पर्वलाई राज्यले ध्यान नदिएको पाइन्छ । आज यही कारणले थारु समुदायका धेरै पर्वहरु लोप हुने अवस्थामा रहेका छन् । अरु समुदायको पर्वमा बिदा दिने राज्यबाट नै क्यालेण्डरमा पर्वको तिथिमिति उल्लेख गरिदिने तर थारु समुदायको कुनै पनि पर्वमा उल्लेख गरेको पाइदैन । यसले पनि थारु समुदायलाई राज्यबाट ठूलो अपमान गरेको मान्न सकिन्छ । प्रष्टरुपमा भन्दा राज्यबाट थारु समुदायको कुनै पनि पर्वमा तिथिमिति उल्लेख नभएको कारणले आज थारु समुदायको एवम् महान पर्व अट्वारी कुन दिन मनाउने भन्ने अलमलमा परिरहेका छन् । एउटै पर्व एउटै जिल्लामा फरक–फरक हप्ता अर्थात् फरक दिनमा हुने गरेको छ । यस विषयमा राज्यले नै ध्यान दिनुपर्ने हो । थारु समुदायले कुन पर्व कुन र कत्ति दिन मनाउँछन् र कुन पर्वको कति महत्व छ भन्ने बिषयमा थारु बुद्धिजीवीहरुसँग परामर्श, छलफल, गोष्ठी, अन्तक्र्रिया गर्नुपर्ने आवश्यक छ । र, थारु समुदायको मात्र नभएर हरेक जातिको संस्कृति स्वतन्त्र तरिकाले मनाउने वातावरण मिलाइदिनु राज्यको दायित्व हो । यो दायित्वलाई राज्यले पूरा सक्दैन भने अरु त झन् के गर्न सक्छ र ?

‘अष्टिम्की’ अर्थात् थारु महिलाको स्वतन्त्रताको दिन


सन्तोष दहित
थारु समुदायका महिलाको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात् ‘अष्टिम्की’ हो। कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ। अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमींटिको लगाउनु’बाट भएको थारु संस्कृतविद अशोक थारुको भनाइ रहेको छ। अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टिको लगाउनु हो। ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’ को रुपमा व्रत उपबासका साथै उनको जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसंग टिका, फलफूल, अर्पण तथा दीप प्रज्वलन गरि जलले मनाउँदै आएको पर्व हो। ‘अष्टिम्की’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउँदै आएका छन्। स–सानो १०/११  बर्षको बच्चा देखि लिएर ६०/६५ वर्षको वृद्ध महिलाहरुले यो पर्व मनाउँदै आएको पाइन्छ।
‘अष्टिम्की’ तयारी कहिलेदेखि
‘अष्टिम्की’ आउने एकडेढ हप्ता अगाडीदेखि थारु महिलाहरुले ‘अष्टिम्की’को तयारीमा जुटेका हुन्छन्। थारु महिलाहरुको सवै भन्दा महान पर्व भएकोले त्यसदिनमा विशेष गरि नया कपडा (रातो, कालो चोली, सेतो गुन्यु), विभिन्न थरथरिका गहनाको तयारी गर्ने गर्छन। यसरी कपडा गरगहना तयारी गरिसकेपछि ‘अष्टिम्की’को अघिल्लो रात दर खानको लागि माछा मार्ने, घोङघी खोज्न जाने गर्छन्। अष्टिम्कीमा विशेषगरी थारु महिला ले घोङघी र माछासँग दर खाने गर्छन्। त्यसैसँग मासु अन्य मिठोमिठो परिकारको लागि पनि तयारी गर्ने गर्छन्। त्यसैगरी चित्र बनाउन विभिन्न थरिको रंग, चुन, गोवर माटो, चित्र कोर्नको लागि बाँसको व्रस, आदि जुटाउने गर्छन्। त्यस्तै पकाउनको लागि दउरा, अग्रसान ‘कोसेली’ दिन जान सालको पात टिपेर टपरी लगाउने, घर सरफाई गर्ने लगायत कामको तयारी गरेका हुन्छन्।
‘अष्टिम्की’ मा के–के बस्तुको चित्र कोरिन्छ
‘अष्टिम्की’को पूजा गर्नको लागि महटावा घरको वैठक (बह्री) कोठालाई उपयुक्त मान्छन्। त्यो दिन बैठक कोठा बिहानै लिपपोट गरेर सफा गरिन्छ। त्यही बैठक कोठाको उत्तर पत्तिको भित्ता या ‘डेह्री’मा चतुर्भुज आकारमा बनाइ गोवर माटोले लिपपोट गरिसकेपछि त्यसलाई सेतो चुनले पोटिन्छ भने त्यसको छेउमा छेउमा विभिन्न थरिको रंगीचंगी रंगले चारैतिर पोटीसकेपछि त्यसैको बीचमा सवैभन्दा माथि पाँच जनाको चित्र बनाइन्छ। 
 सबैभन्दा बीचको चित्रलाई  श्रीकृष्णको चित्र हुन्छ। ‘अष्टिमी’को दिन श्रीकृष्णलाई हिरो बनाइन्छ। किनकि अष्टिम्कीको दिन श्री कृष्ण अर्थात् ‘कान्हा’को पूजा गरिन्छ। यसरी श्री कृष्णको दाँया सुर्य र बाँया चन्द्रमाको चित्र कोरिन्छ। त्यसैगरि दोस्रो लाईनमा सात जना मान्छेको चित्र कोरिन्छ। जहाँ सात भाई कौरबको प्रतिनीतित्व हुन्छ। यसैगरी तलको भागमा दुलाहा दुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जान लागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर, सर्प, गाई, बल्ला, विराले,बनजंगल, विभिन्न चरा, चरिंगी, जनावर, विच्छीलगायतको चित्र बनाइन्छ।
कसरी पूज्छन ‘अष्टिम्की’ मा पूजा
‘अष्टिम्की’को दिन जब साँझ पर्छ। थारु महिलाहरु विभिन्न रंङ्गीचंङ्गी राटो, कालो, निलो चोली, सेतो गुन्यु, विभिन्न घाँटीभरि गरगहना लगाएर र वलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर लाइनबद्ध गाँउभरिको महिलाहरु महटवाको घरमा जुटछन्। गाँउभरिका महिलाहरु भेला भइसकेपछि महटावाँकी श्रीमति आइपुग्छन। र अष्टिम्की’को पूजाको सुरुवाट महटावाँकी श्रीमतिबाट हुन्छ। 


यसरी भित्तामा कोरिएको चित्रको सवै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्य विचमा रहेका श्री कृष्ण (कान्हा)लाई टिका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टिका, कलशको जलद्धारा पूजा गरिन्छ। यसरी महटवाँकी श्रीमतिले पूजा गरिसकेपछि क्रमस गाँउका सवैभन्दा ठुलाबाट अन्य महिलाहरु पुज्ने गर्छन्।



 ‘अष्टिम्की’को पहिलो दिन
‘अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरु दिनभरि व्रत वस्छन्। त्यसैगरि अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र वनाउको लागि पुरुष मान्छे पनि व्रत वसेका हुन्छन्। यसरी यो दिन थारु महिलाहरुले दिउसो ११/१२ बजेतिर नुहाइधुवाई गरि अष्टिम्कीमा पूजा गर्नको लागि विभिन्न थरिको फूल, ज्यामिर, दियो बाल्नको कपासको बत्ति, माटाको दियो, सालको पातको टपरी बनाउने तयारी गर्छन भने पुरुष मान्छले अष्टिम्कीको चित्र बनाउन तिर लाग्छन। अष्टिम्कीको चित्र बनाउनको लागि थारु महिलाहरुले पनि सहयोग गर्ने गर्छन्। यसरी चित्र बनाइसकेपछि बेलुका अर्थात साझ ७/८ वजेतिर गाँउका सवै थारु महिलाहरुले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फुल, ज्यामिर,  लिएर लाइबद्ध रुपमा महटावाको घरमा जाने गर्दछन। त्यहाँ गाँउका सवै थारु महिलाहरु जुटीसकेपछि महटावाको श्रीमतिले सवै भन्दा अगाडि पूजा गर्नसुरुवाट गर्छन।
 यसरी महटावाको श्रीमतिले पूजा गरिसकेपछि गाँउको ठूलाबाट क्रमस सानोले पूजा आजा गर्न गर्छन्। पूजा गर्ने बेला श्रीकृष्णलाई सवै भन्दा अगाडी सेन्दुरले टिक्ने गर्छन अर्थात श्री कृष्णलाई टिका लगाइसकेपछि भित्तामा कोरिएको अन्य सवैचित्रमा क्रमस टिका लगाउने र टिका लगाइसकेपछि तीन या पाँच चोटी जल चढाउने सुरु गरिन्छ। त्यहिक्रममा अष्टिम्कीको गित पनि गाइन्छ।

 यसरी गाँउका सवैले पूजा गरिसकेपछि सवैले आ–आफ्नो घरमा गएर दहि, फलफुल, खाइसकेपछि पुन महटवाको घरमा गई रातभरि सामुहिकमा ‘अष्टिम्की’को गीत गाइन्छ। अष्टिम्कीमा यसप्रकारको गीत हुन्छ।
 हरे पहिल छ सिर्जल जल थल धरती
 सिरीजी ट गइल हो कुशकै डाब २
 सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २
Tharu Festival Astimki-2
यसरी रातभरि गीत गाइसकेपछि विहान ६ वजे गाँउभरिको सवै थारु महिलाहरुले आ–आफ्नो टपरीमा रहेको बलिरहेको  दियो ‘दिप पज्वलन’, ज्यामिर, फूल लिएर लाइनबद्धमा नजिकैको खोलामा पुग्छन। खोलामा गइसकेपछि सवैले पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप पज्वलन’, ज्यामिर, फूल एकसाथ वगाउने गर्छन। भने यता पछाडी पुरुषहरु लंगी लुटनकोलागि खोलामा पर्खिरहेका हुन्छन। त्यो दिन वगाएको ज्यामिर धेरै मिठो हुने गरेको थारु जानकारहरु वताउछन्। यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, लंगी, फूल वगाई सकेपछि सवैले नुहाई धुवाइगरि आ–आफ्नो घरमा जन्छन। घरमा आइसकेपछि उनिहरु हिजैकै दिन जस्तै भात, तीन थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकल्ने (कहार्ने) गर्छन जलसालई थारु भाषामा अग्रसान भन्ने गरिन्छ। त्यहि अग्रसान विवाहित महिलाहरुको दाजुभाई छनभने आ–आफ्नो दाजुभाईहरुलाई अग्रसान दिन जाने चलन छ भने अविवाहित गाँउका महिला अर्थात (वठिन्या) हरु एकठाउमा जम्मा भएर जात्रा (लाखे) हर्न जान्छन।
यसरी दुई दिनसम्म थारु महिलाहरु वर्षको एक चोटी आउने महान पर्व अष्टिम्की मनाउने गर्दछन। यो पर्व मनाउन पाउने थारु महिलाहरुको आफ्नो लागि ठुलो खुशी र स्वतन्त्रताको दिन पनि मान्नेगर्दछन। सधैभरि घरको काममा व्यस्तता रहने थारु महिलाहरु अष्टिम्कीको दिन भने कुनै पनि काम गर्नुपर्दैन सवै काम पुरुषले गदिर्ने गरेकोले उनीहरु स्वतन्त्रताको दिन मान्ने गरेका हुन्।

Tuesday, September 8, 2015

संघीयता र स्वशासनको प्रश्न



महेश चौधरी

    नेपालको राष्ट्रिय राजनीति नेपाली समाजको सामाजिक बनोट र भौगोलिक अवस्थाबाट गम्भीर रुपबाट प्रभावित छ । भौगोलिक रुपमा नेपालमा हिमाल, पहाड, तराई भौगोलिक विविधता भएकोले नेपालको अवस्था अत्यन्त विशिष्ट छ । नेपालमा धेरै जात–जाति, भाषा, भाषि, धर्म, संस्कृति र उत्पत्तिका मानिसहरूको बसोबास रहेको छ । नेपाल दुई ठूला देश र फरक विचार भएका देशबीच भूपरिवेष्ठित छ । भारतीय सुरक्षा छाता मुनी बस्नुपर्ने हाम्रो बाध्यता छ । सदियौंदेखि दक्षिणतिर खुल्ला सिमाना भएकोले भारत–नेपाल आवत–जावत गर्नमा कुनै रोकटोक छैन । प्राकृतिक स्रोतमा नेपाल धनी राष्ट्र भए पनि असमान सन्धी र सन् १९५० को व्यापार पारवहनका सन्धीहरूले गर्दा हाम्रा राष्ट्र निर्माणका चुनौतिहरू छन् । 
        नेपाली जनताको प्रमुख अन्तरविरोध राजतन्त्र र सामन्तवादसँग थियो, २०६२/६३ को जन आन्दोलनले त्यसलाई समाप्त पा¥यो अब त्यसको अवशेषमात्र बाँकि छ । नेपाली जनताका केहि विभेद अथवा अन्तर विरोधहरू छन् जस्तै महिला विभेद, तराई विभेद, जनजाति विभेद, दलित, विभेद, दुर्गम विभेद, वर्गीय विभेद र राजनीतिक विभेद छन् । संघीयताले अरु विभेद हटाउन समर्थ भएपनि वर्गीय विभेद हटाउन सक्तैन । संघीय राज्य प्रणाली माक्र्सवाद सम्मत छैन । किनभने यसले वर्गीय मुद्दालाई न समातिकन जातिय धार्मिक, सांस्कृतिक, भाषिक आदि मुद्दालाई समेट्छ । यसर्थ यसले केन्द्रको ठालूको हातबाट प्रदेशका ठालूका हातमा सत्ता हस्तान्तरण गर्ने कार्य गर्छ । विभेदका कारण नेपालमा केहि राष्ट्रवाद जन्मेका छन् । नेपालमा हिन्दू समाजकै तल्लो तहको मानिने दलितहरूले हिन्दू उच्च जातका विरुद्ध संघर्ष थालेर उप–राष्ट्रवादलाई अगाडि बढाएका छन् । हिन्दू उच्च जातीय अहंकारवादले जनजातिय राष्ट्रवादलाई अस्तित्वमा ल्याएको छ । मधेशी मूलका समुदायहरूले खस अन्ध राष्ट्रवादको उत्पीदनका कारण स्वायत्तता, संघीयता, एकमधेश एक प्रदेश जस्ता क्षेत्रीय राष्ट्रवादलाई अघि सारेका हुन् । हुन त उच्च जातिवाद र पछाडि परेका तथा पारिएकाहरूको जातिवाद ‘अन्ध–जातिवाद’ तथा अन्ध–क्षेत्रवाद सबै गलत दृष्टिकोण हुन् । यसले राष्ट्रिय एकतामा खलल पु¥याउँछ । नेपालको गरिबी, बेरोजगारी ? जातीय, लैङ्गीक र क्षेत्रीय पछौटेपनको कारक तत्व बितेका २४० वर्षका सामन्ती एकात्मक र केन्द्रिकृत शासन व्यवस्था हो । नेपाली राष्ट्रवाद अगाडि बढ्न नसक्नुका कारक तत्वहरू मध्ये प्रमुख कारक तत्व यही हो भन्ने आम मानिसहरूको ठम्याई छ । 
        राज्य र राष्ट्र फरक कुरा हुन् । एउटा भौगोलिक राजनैतिक एकाईलाई राज्य भन्दछन् भने राष्ट्र शब्दको दोहरो अर्थ लाग्छ— देश र नागरिक । संयुक्त राष्ट्र संघ राष्ट्रहरूको छाता संगठन हो । नेपाल त्यसको सदस्य हो । यसर्थ राष्ट्र शब्दको सम्बन्ध देशसँग छ । तर नेपाली समाजको विकासको आधारमा भन्नुपर्दा कुनै समुदाय कविला, जनजाति र जाति असमान अवस्थामा विकास भएका छन् । तसर्थ राष्ट्र शब्दले खास समूहका जनताहरूको सामूहिकता र जनसंख्याको त्यो हिस्सा हो जसले खास क्षेत्रमा स्वायत्तता वा स्वतन्त्रता सम्बन्धी आत्म निर्णयको अधिकारको माग गर्छ अर्थात आफ्नो शासन गर्ने अधिकारको माग गर्ने जनतालाई राष्ट्र भन्दछन् । 
       माक्र्सवादीहरूको विचारमा राष्ट्र भनेको एउटा रक्तसम्बन्ध भएका र एउटै स्वार्थ हुने समुदायको जनसंख्यालाई बुझाउँछ । समाजशास्त्री र राजनैतिक दर्शन साहित्य अनुसार राष्ट्र भनेको, जनजातिबाट ऐतिहासिक रुपले निर्माण भएको त्यस्तो समुदाय हो जसमा समान भूगोल र आर्थिक जीवन, समान भाषा, खास किसिमका समान विशेषता सहितका संस्कृतिहरू हुन्छन् । स्टालिनले लामो ऐतिहासिक परम्परा, भाषा, भौगोलिक क्षेत्र, आर्थिक जीवन सांस्कृतिक रुपमा देखिने साझा मनोभावना भएको स्थिर समुदाय राष्ट्र हो भनेका छन् । 
        नेपालको सामाजिक विकासमा असमानता भएकोले पछाडि परेका र पारिएका जाति, समुदाय र क्षेत्रलाई स्वशासनको अधिकार प्रदान गरि सबैलाई राष्ट्रिय मूलधारमा ल्याउनु राज्यको दायित्व हो । पहिले राष्ट्रको समृद्धि आर्थिक विकाससँग जोडिन्थ्यो भने आजभोली सामाजिक विकाससँग लिइन्छ । नेपाली नागरिकहरूलाई अन्तर्राष्ट्रिय जगतसँग प्रतिस्प्रधि न बनाएसम्म नयाँ नेपाल निर्माण गर्न सकिन्न । नयाँ नेपाल निर्माणका लागि हाम्रो संविधान र सरकारी नीतिले पछाडि परेका र पारिएका वर्गतहका जनतालाई समानता प्रदान गर्न सक्नुपर्छ । यो हाम्रो साझा उद्देश्य हुनुपर्छ । समानता तथा बन्धुतवा आधारित हाम्रो ठूलो परिवारमा एउटा संघीय लोकतान्त्रीक गणतन्त्रात्मक मुलुक निर्माण गर्नु हाम्रो साझा उद्देश्य हो । तर यो छोटो समयमा हासिल गर्न सकिने कुरा होइन । यसले योजनावद्ध प्रयत्नको अपेक्षा गर्दछ । विकासको साझा सकारात्मक लक्ष्यको मद्दतले वैरभावका निस्कृय असन्तुष्ट भावनाहरूलाई हटाउन सकिन्छ । 
      २०५१ सालमा नेकपा (माओवादी) पार्टीको प्रथम राष्ट्रिय सम्मेलनद्वार ‘जातीय नीति’ पास गरेपछि माओवादीले जे जति उपलब्धी र शक्ति आर्जन गर्न सफल भएको छ त्यही जातीय र क्षेत्रीय मुद्दाका आधारमा सफल भएको छ । यो कुरा शान्ति प्रक्रियामा आएपछि नेकपा (माओवादी) पार्टी अध्यक्ष प्रचण्डले पटक–पटक बताउने गर्छन् “०५१ सालमा हामीले नोपली क्रान्तिको पूँजी भेट्टायौं । सायद यो पूँजी न भेटाएको भए जनयुद्धले यति छिट्टै विजयको शिखर जुम्न सक्ने थिएन । त्यो पूँजी जातीय क्षेत्रीय नीति हो ।” तर आज क. प्रचण्ड समेतको तीन प्रमुख दलिय सहमतिमा नयाँ संविधान निर्माणको अन्तिम घडीमा छ तर जनजाति, मधेशी लगायत पछाडि परेका र पारिएका विभिन्न तहका असन्तुष्ट जनताहरू संघर्ष, आन्दोलन र विद्रोहमा उत्रेका छन् । तर क. प्रचण्ड मौन छन् । उनी नेपाली काँग्रेस र नेकपा (एमाले) नेता सामु यति लच्के रबड भन्दा बढी लच्किदिए । उनी यति पग्लिए आगो सामु घिउ पग्लेभन्दा बढी पग्लिदिए । उनी यत्ति झुके यत्ति झुके पाइतालासम झुके । 
          पुनसंरचनाको अशय जातीय मुक्तिभन्दा पनि आर्थिक विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्नका लागि आवश्यक छ किनभने अहिलेको विश्वमा आर्थिक प्रगतिविना कुनै पनि देश टिक्न सक्तैन । संघीय शासन टिक्ने वा न टिक्ने भन्ने कुरा आर्थिक प्रतिफल र त्यसको विकाससँग सम्बन्धित छ । पर्सादेखि सप्तरी सम्मको प्रदेश नं. २ मधेश प्रदेशले आफ्नो आर्थिक विकास कसरी गर्न सक्तछ ? जब कि आर्थिक विकासका लागि ढुङ्गा, बालुवा, वन जंगल पानी, बत्ति, चाहिन्छ त्यो कहाँ पाउने ?
          अहिले जनजाति र मधेशी समुदायलाई राम्रो शासन चाहिएको छ । राम्रो शासन भनेको स्वशासन हो । त्यसलाई सफल तुल्याउन राष्ट्र राज्य हुनुपर्छ अर्थात साझा भाषा, साझा धर्म, साझा संस्कृति, साझा रक्तसम्बन्ध पनि हुनसक्तछ आदिले बाँधिएको सघन रुपमा एक क्षेत्रमा निरन्तर बसोबास गर्दै आएका एउटा जातिको शासन हुनुपर्छ भन्ने दृष्टिकोण हो । यसर्थ जोन स्टुवार्ड मिलले–पछाडि परेका वा पारिएका समुदायलाई सुशासन होइन स्वशासन चाहिन्छ भनेका छन् । यसै आधारमा चीनमा ३९ प्रतिशत जनसंख्या भएका उगरहरू, निङ्सिया हुई (३१%), भित्री मङ्गोल (११.१३%) कुआन्सी चुआङ (३३.४३) र तिब्बती (८९.१९%) ले स्वशासनका अधिकार पाएका छन् । तर नेपालको कन्चनपुर जिल्लको बाँडी जंगलमा एकसमय नेपाली काँग्रेसका भू.पू. प्रधान मन्त्रि थारुहरूका बच्चाहरूसँग गाई ग्वाला जान्थे भन्दैमा कैलाली र कन्चनपुरको भूभाग थारुलाई एक इन्च पनि दिन्न मेरो बिर्ता हो भन्न कहाँसम्म सुहाउँछ ? नेपालका ठूला सामन्तलाई नेपाली जनताले फालिसकेका छन् । अब अखण्डका साना सामन्तलाई कसरी स्थापित गर्ने ? साना सामन्तका रैती हामी बन्न सक्तैनौं हाम्रो ज्यान गए पनि पूर्वका आफ्ना समुदायसँग हामी छुट्टिन सक्तैनौं भनेर कैलाली र कन्चनपुरका थारुहरू आन्दोलनमा उत्रेका छन् । अब प्रमुख राजनैतिक दलहरूले थारु र मधेशीहरूको मुद्दालाई कसरी सम्बोधन गर्दछन् हेर्न बाँकी छ । 

लेखक – पूर्व राज्य मन्त्रि र 
पूर्व सभासद हुनुहुन्छ ।