Wednesday, March 2, 2016

कुशल नेतृत्वको परम्परागत उदाहरण महटवा प्रथा


सन्तोष दहित
नेपालमा बसोवास गर्दै आएका विभिन्न जातजातिबीच थारु समुदायको छुट्टै कला, संस्कृति, भाषा, भेषभुषा, चालचलन तथा रीतिरिवाज छन् । सांस्कृतिक रूपले नेपालकै सबैभन्दा धनी जातिका रूपमा चिनिने थारु समुदायको परम्परागत साङ्गठनिक संरचना, प्रशासन, व्यवस्थापिका, कानुन आफ्नै किसिमका छन् ।
खासगरी ग्रामीण परिवेशमा बस्न रुचाउने यो समुदाय आफ्नो छुट्टै किसिमको पारम्परिक साङ्गठनिक संरचना, कानुन, नियम पालना गर्न रुचाउँछन् । निःस्वार्थ सामूहिक भावना बोकेको कुशल एवम् अनुशासित नेतृत्वलाई सम्मान गर्ने परम्परा थारु समुदायमा पाइन्छ । सिङ्गो थारु गाउँलाई परम्परागत नेतृत्व प्रदान गर्ने व्यक्ति हुन – महटवा/बडघर/भलभन्सा । महटवा/बडघर/भलभन्सा जस्ता भिन्नाभिन्नै शब्द प्रयोग गरिएपनि थारु अगुवाको काम भने एउटै हो । यस्तो भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई दाङमा महटवा भनिन्छ भने बाँके, बर्दियामा बडघर र कैलाली र कञ्चनपुरमा भलभन्सा भन्ने गरिन्छ ।

वि.सं. २०६८ मा गरिएको जनगणना अनुसार नेपालमा चौथो स्थानमा रहेको थारु समुदायको जनसङ्ख्या ६.६ प्रतिशत छ ।
सन्तोष दहित 
नेपालको आदिवासी जनजातिमध्ये प्रमुख जाति थारुको बसोवास पूर्वदेखि पश्चिमसम्मै फैलिएको छ । खासगरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहत, बारा, पर्सा, चितवन, नलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, कञ्चनपुर लगायत जिल्लामा थारु समुदायको बाक्लो बसोवास छ । थारु समुदायकोे मुख्य बसोवास स्थल दाङ जिल्ला भएपनि त्यतिखेरको सामन्ती र शोषकहरूको अत्याचार र दमन सहन नसकी बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत हँुदै पूर्वको झापासम्मका तराई क्षेत्रमा यिनीहरूको बसाइँसराइ भएको थारु अगुवाहरू बताउँछन् । 

थारु समुदायमा महटवा/बडघर/भलभन्साले मलामीदेखि लिएर गाउँको विकाससम्मको अगुवाइ गर्दै आएको महटवा/बडघर/भलभन्सा महासङ्घ दाङका अध्यक्ष एवम त्रिपुर नगरपालिका ७ जलौराका महटवा चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । यति मात्र नभएर उहाँहरूले गाउँमा न्यायाधीशको भूमिका समेत निर्वाह गर्दै आउनुभएको चौधरीले बताउनुभयो । 

हिजो आज थारु समुदायको परम्परागत महटवा/बडघर/भलभन्सा प्रथा हराउँदै गएपनि यसलाई पुनःस्थापना गर्ने काम भइरहेका चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म दाङका सबै थारु गाउँमा महटवा चयन भइसकोको छ । घोराही नगरपालिकाका केही थारु गाउँ र देउखुरी उपत्यकामा मात्र महटवा छान्न बाँकी रहेको बताउँदै चौधरीले भन्नुभया, “यो पनि आउने माघीमा भइसक्छ ।” 

हालसम्म आफ्नो सम्पर्कमा दाङका मात्र ४ सय ३० जनाभन्दा बढी महटवा आइसकेको चौधरीले जानकारी गराउँदै जिल्लाभरिका महटवाहरूको तथ्याङ्क लिने काम पनि भइरहेको चौधरीले बताउनुभयो । उहाँका अनुसार निकट भविष्यमा दाङमा पाँच जिल्लाका महटवा/बडघर/भलभन्सा महासङ्घको केन्द्रीय अधिवेशन हुन लागेकोले दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका महटवा/बडघर/भलभन्साको वास्तविक तथ्याङ्क प्रकाशमा आउनेछ । 

“केही वर्ष अघिसम्म थारु गाउँमा विकाससम्बन्धी सम्पूर्ण योजना उहाँहरूले नै बनाउँदै आउनुभएको थियो”, अध्यक्ष चौधरीले भन्नुभयो, “गाउँघरमा कसैको मृत्यु हुँदा लास जलाउने वा गाड्ने अर्थात् कुन ठाउँमा लाने जस्ता सबै निर्णय उहाँहरूबाटै हुन्थ्यो । यतिमात्र नभएर गाउँमा अंशवण्डा, बिहाबारी जस्ता सामाजिक व्यवहार पनि उहाँहरूले नै मिलाउँदै आउनुभएको थियो । त्यतिबेला उहाँहरूले बोलेपछि गाउँका सबैले मान्थे वा मान्नुपथ्र्यो ।” 

अहिले यी सबै अधिकार नभएपनि सामाजिक र विकाससम्बन्धी निर्णय भने अझै पनि महटवाकै नेतृत्वमा भइरहेको चौधरीले बताउनुभयो । उहाँका अनुसार महटवा भएको गाउँ र महटवा नभएको गाउँबीच धेरै अन्तर देखिन्छ । “महटवा भएका गाउँ विकासदेखि लिएर अन्य हरेक काममा अगाडि देखिन्छ, सङ्गठित भएको देखिन्छ तर महटवा प्रथा नभएका गाउँ अस्तव्यस्त देखिन्छ”, चौधरीले भन्नुभयो । 

थारु संस्कृति तथा इतिहासविद् एवम् पूर्व राज्यमन्त्री महेश चौधरीका अनुसार थारु समुदायले आफ्नो नयाँ वर्ष अर्थात् माघीको अवसर पारेर प्रत्येक वर्ष माघ महिनाको १ र २ गते महटवा/बडघर/भलभन्सा छान्ने गर्दछन् । थारु समुदायमा महटवा/बडघर/भलभन्साको चयन लोकतान्त्रिक पद्धतिबाट हुने गरेको उहाँले बताउनुभयो ।

महटवा/बडघर/भलभन्सा चयनका लागि गाउँका प्रत्येक घरका मुख्य व्यक्ति अर्थात् ‘गरधु¥या’ महटवा/बडघर/भलभन्सा को घरमा जम्मा हुन्छन् ।  उहाँका अनुसार महटवालाई सघाउनका लागि अन्य दुई जना व्यक्ति ‘अघवा’ र ‘चौकिड¥वा’ पनि छानिन्छ ।

सो क्रममा उनीहरूले आगामी वर्षको कार्ययोजना तथा बितेको वर्षको समीक्षा पनि गर्दछन् । गाउँका हरेक विकासका कामदेखि पूजापाठ कसरी गर्ने, कुन ठाउँमा के बनाउने, कहाँसम्म बाटो लग्ने, कहाँ मर्मत गर्ने, आर्थिक स्रोत कहाँबाट ल्याउने आदि विषयमा व्यापक छलफल गर्नुका साथै आउने वर्षमा गाउँ चलाउने नेतृत्व कसलाई दिने भन्नेबारे पनि छलफल गरिन्छ । “त्यही छलफलका आधारमा सकेसम्म सर्वसहमतिबाट र नभए लोकतान्त्रिक अभ्यासबाट निर्वाचन गरी नयाँ महटवा/बडघर/भलभन्सा चयन गरिन्छ”, चौधरीले भन्नुभयो ।

यी दुई जनाको सहयोगमा सिङ्गो गाउँ महटवा/बडघर/भलभन्साले हाँक्नुपर्छ । पहिले थारु गाउँमा महटवा/बडघर/भलभन्साको दाहिने हातका रूपमा ‘अघवा’ लाई चिनिन्थ्यो भने बायाँ हातका रूपमा चौकिदारलाई । अघवाले महटवा/बडघर/भलभन्साले बैठक, छलफल, कचहरी कार्यक्रम राखेपछि गाउँका प्रत्येक घरका मूली अर्थात् ‘गरधु¥या’लाई खबर गर्ने, गाउँमा कुनै नयाँ योजना आयो भने सबैलाई जानकारी दिने जस्ता काम गर्नुपथ्र्यो । त्यस्तै बाटो मर्मत गर्नुपरेमा, कुलो निर्माण गर्नुपरेमा, बाँध बाँध्नुपरेमा गरधु¥याहरूलाई काममा लगाउने काम पनि अघवाकै हुन्थ्यो । चौकिदारको काम नेपाल प्रहरीले जस्तै गाउँको सुरक्षादेखि लिएर अन्नबालिको रेखदेख गर्ने हुन्थ्यो । 

वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष केबी मसालको विचारमा थारु समुदायको महटवा प्रथा बैज्ञानिक र विज्ञानसम्मत प्रथा हो तर अहिले आधुनिकताका कारण महटवा प्रथा तहसनहस भइरहेकोले यसलाई पुनःस्थापना गर्न जरुरी छ । पहाडमा मगर, गुरुङ, लिम्बु, शेर्पा समुदायले आफ्नो समाज आफै चलाउने गरे जस्तै तराईमा थारु समुदायको आफ्नै नियम, कानुन, संरचना थियो । “अहिलेको राजनीतिका कारण महटवा प्रथा ओझेलमा पर्नु दुःखद् कुरा हो, कुशल राजनीतिक नेतृत्व गर्ने हो भने बडघर/भलमन्सा/महटवासँग सिक्नुपर्छ”, मसालले बताउनुभयो । 

महटवाहरू पढेलेखका नभएपनि उहाँहरूसँग वैज्ञानिक ज्ञान छ । बाटो कसरी बनाउने, कुलो कहाँबाट ल्याउने, गाउँलाई व्यवस्थित तरिकाले कसरी बसाल्ने जस्ता सबै काम महटवाहरूकै डिजाइनमा हुन्थ्यो । यस्ता वैज्ञानिक, वौद्धिक नेतृत्व गर्ने महटवा प्रथालाई निरन्तरता दिनु जरुरी रहेको मसालले बताउनुभयो ।

यसैगरी गाउँको अस्तव्यस्ततालाई व्यवस्थित शैलीमा अगाडि बढाउनका लागि महटवा प्रथा अति जरुरी रहेको थारु बुद्धिजीवी एवम् राजनैतिक विश्लेषक सौगतवीर चौधरी बताउनुहुन्छ । अहिले विविध कारणले थारु गाउँमा महटवा प्रथा हराउँदै गइरहेको बताउँदै उहाँ भन्नुहुन्छ, “यसलाई निरन्तरता दिनका लागि पुनःजागरण कार्यक्रम ल्याउनुपर्छ ।” 

विगतमा महिनौँ दिन लाग्ने काम पनि महटवा/बडघर/भलभन्सा को अगुवाइमा सामूहिक पहलबाट एकै हप्तामा सकिन्थ्यो, गाउँको सुरक्षा, रेखदेखदेखि लिएर पूजापाठ पनि निकै राम्रो हुने गरेको थियो तर अहिले त्यो अवस्था छैन ।

महटवा/बडघर/भलभन्साको अनुपस्थितिका कारण थारु समुदायमा मौसम अनुसार गरिने पूजाआजा, गीत, नाच पनि लोप हुने अवस्थामा छन्, गाउँको साझाका रूपमा रहेका देउठन्वाहरू भताभुङ्ग हुने अवस्थामा छन्, गाउँका कुला नाला धस्सिएका छन्, विकासका काम समेत अहिले अस्तव्यस्त भएको पाइन्छ । त्यसैले यी दुरवस्थालाई व्यवस्थित गर्नका लागि हाल विघटित अवस्थामा रहेको यो प्रथा पुनःस्थापित गर्न जरुरी रहेको चौधरीले बताउनुभयो । महटवा/बडघर/भलभन्सा प्रथालाई पुनःस्थापित गर्नु भनेको थारु जातिको पहिचानलाई पुनःस्थापित गर्नु हो ।

थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक विकासका लागि यो प्रथालाई निरन्तरता दिनुका साथै राज्यले उहाँहरूलाई सक्रिय बनाउनका लागि राज्यको हरेक तहमा सहभागी गराउनु जरुरी रहेको चौधरीले भन्नुभयो । देशमा कुशल नेतृत्वका लागि पनि थारु समुदायको यस परम्परागत संरचनाबाट सिक्नुपर्ने चौधरीको भनाइ थियो ।

थारु समुदायका लागि धेरै उपयोगी यस प्रथालाई पुनःस्थापना गर्नुसँगै समय परिस्थिति अनुसार यसलाई परिमार्जन पनि गरिनुपर्छ । एउटा गाउँको महटवाको सम्बन्ध अर्काे गाउँको महटवासँग कायम गराइनुपर्दछ भने यसलाई जिल्ला, क्षेत्र हुँदै केन्द्रीय तहसम्म बलियो संस्थाका रूपमा विकास गर्नुपर्छ । तराईका २२ जिल्लामा यस प्रथालाई पुनःस्थापित गर्नसके थारु समुदायको भाषा, कला, संस्कतिमा एकरूपता आउनुका साथै थारु समुदायको सामूहिक विकासलाई गति दिनमा पनि सघाउ पुग्ने देखिन्छ । यसैगरी अर्काे गाउँमा भएको प्रगतिबारे अध्ययन गरी आफ्नो गाउँघरमा रहेका कमजोरीको समीक्षा गर्नमा पनि सहयोग पुग्नेमा शङ्का गर्न सकिँदैन ।

यो आलेख, अमेरीकी सहयोग नियोगको सहयोगमा संचालित साझेदारी विकास परियोजनाका लागि इक्वल एक्सेसले तयार पारेको हो । यसमा प्रसारित कुनै पनि सामग्रीले अमेरिकी सरकार अथवा अमेरिकी सहयोग नियोगको आधिकारीक धारणा व्यक्त गर्दैन । 

No comments:

Post a Comment