Tuesday, September 15, 2015

आदिवासी धर्तिपुत्र थारु समुदायको ‘अट्वारी’ को एक चर्चा

सन्तोष दहित
         नेपालका भूमिपुत्र भनेर चिनिने थारु जातिको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जगतमा छुट्टै पहिचान रहिआएको छ । आफ्नो उच्च भेषभुषा, रहन–सहन, भाषा, संस्कृति एवम् जीवनशैली अत्यन्त रोचक र फरक रहेको छ । थारु समुदायका मानिसहरुलाई सरल, इमान्दार एवम् परिश्रमका पारखीका रुपमा पनि चिनिने गरिन्छ । प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेको थारु जाति समृद्ध संस्कृतिका धनी मानिन्छन् । त्यसैले होला प्रत्येक महिनामा कुनै न कुनै पर्व थारु समुदायले मनाउँदै आएका छन् । थारु समुदायले अरु जति पर्व मनाए पनि माघीपछिको ठूलो पर्वका रुपमा अट्वारीलाई मनाउँदै आएका छन् ।
        थारु समुदायको ‘माघी’ पछि दोस्रो महानपर्व ‘अट्वारी’ लाई मान्नेगर्दछन् । यो पर्वलाई थारु समुदायका मानिसहरुले धुमधामका साथ उल्लासमय वातावरणमा मनाउँदै आइरहेका छन् । ‘अट्वारी’ पर्वलाई थारु समुदायले दुइ दिनसम्म मनाउने गर्ने गर्दछन् । बर्षको एकचोटी मनाउने ‘अट्वारी’ अरु पर्व भन्दा फरक तरिकाले र निकै महत्वका साथ मनाउँदै आइरहेका छन् । यदपि ‘अट्वारी’ पर्व मनाउनको लागि थारु समुदायको तिथिमिति नभए पनि थारु समुदायले कृष्णअष्टमीपछि दुइ आइतबार अर्थात् कुशेऔंशीपछिको आइतबारको दिनमा ‘अट्वारी’  पर्व  मनाउँदै आइरहेका छन् ।
यो पर्वमा पश्चिम तराईका जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत गरी ६ जिल्लाका थारु समुदायले भव्यताका साथ उल्लासमय वातावरणमा अट्वारीलाई मनाउँदै आएका छन् । अट्वारी पर्व थारु समुदायका पुरुषले मात्र मनाउँदै आएको पाइन्छ । खासगरी यो पर्व मनाउने मुख्य कारण ऐतिहासिक घटनासँग जोडिएको पाइन्छ ।
        प्राचीनकालमा दाङका दङ्गीशरण थारु राजा र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित रहेको छ । महाभारतका पाँच पाण्डव र दाङका थारु राजा दङ्गीशरणबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहेको थियो । यही क्रममा पाँच पाण्डव र द्रौपती सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका रहेछन्, त्यही क्रममा दाङका थारु राजा दङ्गीशरणको राज्यमा शत्रुहरुले आक्रमण गरिरहेको खबर पाउनबित्तिकै तावामा पकाउन राखेको रोटी छाडेर भीमले भोको पेटमा पानीसमेत नखाई थारु राजा दङ्गीशरणको पक्षमा लड्न गएछन् र शत्रुहरुलाई हराएछन् । यसरी भोको पेटमा पनि केही नखाएर थारु राजा दङ्गीशरणको पक्षमा लडेर विजय हासिल गरेको अवसरमा यो अट्वारी पर्व मनाउँदै आएको पाइन्छ ।
       जुन मान्यतालाई विश्वास गरि थारु समुदायले भीमजस्तै बलियो बन्नका लागि यो ‘अट्वारी’ पर्व मनाउँदै आएको थारु वुद्धिजीवीहरुको भनाई छ । उक्त घटना पनि आइतबारको दिन परेकोले यसको नाम पनि ‘अट्वारी’ राखिएको बुझिन्छ ।
अट्वारीको पहिलो दिन
    अट्वारीको अघिल्लो रात अर्थात् शनिबारको दिन २/३ बजेतिर राती उठेर माछा, मासु पकाएर दर खाने चलन छ । आइतबार दिनभरि ब्रत बसेर साँझपख ७ बजेतिर नजिकैको खोलामा नुहाइधुवाइ गरेर घरको बैठक कोठामा लिपपोत गरि “गन्यारी” भन्ने काठबाट आगो निकालेर भान्सा गर्ने चलन रहेको छ ।
त्यही “गन्यारी”बाट निस्केको आगोले सबैभन्दा पहिला एकापट्टि मात्र ठूलो “भ्याँवा” रोटी पकाउने चलन छ । जुन रोटीलाई “भेँवक” रोटी भन्ने चलन छ । त्यसपछि अरु विभिन्नथरिका चिल्ला रोटी पकाइसकेपछि आफ्ना दिदीबहिनीहरुको लागि आ–आफ्नो भागमा रहेका रोटी विभिन्न थरिका फलफूल आधा भाग निकालिसकेपछि पुनः आ–आफ्नो भागबाट सबै रोटी तथा फलफूलबाट चिम्टेर “भेँवक” अर्थात् भीमको नाममा आगोमा हालेर पूजा गर्ने चलन छ । यसरी पूजाअर्चना गरिसकेपछि घरका सबै सदस्यहरुले सबैभन्दा ठूला मान्छेबाट क्रमशः सानोले रमाइलो गर्दै खाने चलन रहेको छ ।
जुन दिदीबहिनीहरुको लागि निकालेको रोटी फलफूल थारु भाषामा “अग्रासन” अर्थात् कोशेली भन्ने चलन छ । त्यही अग्रासन अट्वारीको भोलिपल्टको दिन आफ्ना दिदीबहिनीहरुलाई दिन जाने चलन रहेको छ ।
अट्वारीको दोस्रो दिन
अट्वारीको दोस्रो दिन अर्थात् फलारको दिन बिहान सबेरै उठेर नजिकैको खोलामा नुहाइधुवाइ गरि घरको बैठक कोठामा पुनः लिपपोत गरि ३ या ७ थरिका तरकारी र भात पकाइसकेपछि अट्वारीको पहिलो दिनझैं भात, सबै तरकारीबाट आधा भाग निकाल्नुपर्दछ । जसलाई थारु भाषामा “कहर्ना” भनिन्छ । यसरी सबै गरिसकेपछि भीमको नाममा सबै तरकारीबाट एक–एक गाँस तरकारी र भात निकालेर आगोमा हालेर पूजा गर्ने चलन छ । यसरी पूजाअर्चना गरिसकेपछि क्रमशः घरको मुल सदस्यबाट सबैजना रमाइलो गर्दै खाने चलन रहेको छ । पूजाअर्चना खाइपिइ गरिसकेपछि अर्काे महत्वको विषय पनि रहेको छ ।यता थारु समुदायका विवाहित महिला दिदीबहिनीहरुले आफ्नो माइतबाट आफूलाई छुट्याएको भाग “अग्रासन” अर्थात् कोशेलीको पर्खाइमा बसिरहेका हुन्छन् ।

         जबसम्म त्यो अग्रासन माइतबाट आउँदैन् तबसम्म पर्खाइमा बसेका महिला दिदीबहिनीहरु घरमा केही पनि नखाने गरेको पाइन्छ । अघि पछिभन्दा अट्वारीमा थारु महिला दिदीबहिनीहरुले माइतबाट पठाएको अग्रासनको बढी आशा गरेको पाइन्छ ।
    यति मात्र नभएर थारु समुदायमा बर्षभरि आफ्ना दिदीबहिनी अर्थात् दाइभाइसँगको भेटघाट गर्ने अवसर मिलाइदिएको हुन्छ । अट्वारी पर्वले बर्षमा एकचोटी भए पनि आफ्ना दिदीबहिनी तथा दाइभाइसँग भेट्ने अवसर जुटाइदिन्छ । त्यस्तै, छरछिमेकीहरुसँग रीसराग रहेको बेलामा पनि यो पर्वले मिलन गराउनेजस्ता क्रियाकलापमा पनि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
    यसरी थारु समुदायले आफ्नो महान पर्व अट्वारी उल्लासयम वातावरणका साथ धुमधामसँग मनाउँदै आएका छन् । थारु समुदायले अट्वारी पर्व मात्र नभएर अन्य पर्व पनि यस्तै तरिकाले मनाउँदै आएका छन् तर पनि थारु समुदायको कुनै पनि पर्वलाई राज्यले ध्यान नदिएको पाइन्छ । आज यही कारणले थारु समुदायका धेरै पर्वहरु लोप हुने अवस्थामा रहेका छन् । अरु समुदायको पर्वमा बिदा दिने राज्यबाट नै क्यालेण्डरमा पर्वको तिथिमिति उल्लेख गरिदिने तर थारु समुदायको कुनै पनि पर्वमा उल्लेख गरेको पाइदैन । यसले पनि थारु समुदायलाई राज्यबाट ठूलो अपमान गरेको मान्न सकिन्छ । प्रष्टरुपमा भन्दा राज्यबाट थारु समुदायको कुनै पनि पर्वमा तिथिमिति उल्लेख नभएको कारणले आज थारु समुदायको एवम् महान पर्व अट्वारी कुन दिन मनाउने भन्ने अलमलमा परिरहेका छन् । एउटै पर्व एउटै जिल्लामा फरक–फरक हप्ता अर्थात् फरक दिनमा हुने गरेको छ । यस विषयमा राज्यले नै ध्यान दिनुपर्ने हो । थारु समुदायले कुन पर्व कुन र कत्ति दिन मनाउँछन् र कुन पर्वको कति महत्व छ भन्ने बिषयमा थारु बुद्धिजीवीहरुसँग परामर्श, छलफल, गोष्ठी, अन्तक्र्रिया गर्नुपर्ने आवश्यक छ । र, थारु समुदायको मात्र नभएर हरेक जातिको संस्कृति स्वतन्त्र तरिकाले मनाउने वातावरण मिलाइदिनु राज्यको दायित्व हो । यो दायित्वलाई राज्यले पूरा सक्दैन भने अरु त झन् के गर्न सक्छ र ?

No comments:

Post a Comment